
काठमाडौं । भेनेजुएलाबाट पक्राउ गरी अमेरिका पुर्याइएका राष्ट्रपति निकोलस मदुरोलाई साेमबार न्युयोर्कको म्यानहट्टनस्थित संघीय अदालतमा उपस्थित गराइएको छ ।
मदूरो तथा उहाँकी श्रीमती सिलिया फ्लोरेसलाई कडा सुरक्षाकाबीच ब्रुकलिन मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट निकालेर हेलिकोप्टरमार्फत अदालतमा उपस्थित गराइएको हो । मदुरो दम्पत्तिलाई अदालततर्फ लगिँदै गर्दा विशेष सुरक्षा दस्ताले एस्कर्ट गरेका थिए । अमेरिकी न्याय मन्त्रालयका अनुसार मदुरोलाई उच्च जोखिम अभियुक्तको सूचीमा राखिएको छ ।
अदालती प्रक्रियासँगै अमेरिकामा उहाँविरूद्ध लागूऔषध तथा अवैध हतियारसम्बन्धी मुद्दा औपचारिक रूपमा सुरू हुनेछ । मदुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रूबियोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताउनुभएको छ ।
उहाँले अहिले भनेजुएलामा सरकारविहीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताउनुभएको छ । उहाँले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरी कारबाही प्रक्रिया अघि बढाएको पनि बताउनुभयो ।
यसैबीच चीन तथा इरानले मदुरो पक्राउ घटना अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै तत्काल रिहा गर्न वाशिङटनलाई आग्रह गरेका छन् । यता भेनेजुएलामा डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको सपथ लिनुभएको छ । सपथ लिनुअघि उहाँले अमेरिकासँग साझा विकासका लागि सहकार्यको प्रस्ताव गर्नुभएको थियो ।