प्रदर्शनकारीमाथि दमन नगर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

पुस १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
प्रदर्शनकारीमाथि दमन नगर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या नगर्न चेतावनी दिनुभएको छ । उहाँले शान्तिपूर्ण प्रदर्शनकारीको बचाउमा वासिङ्टन अघि सर्ने चेतावनीसमेत इरानलाई दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रकाशित छोटो सन्देशमा ट्रम्पले, “हामी पूर्णरूपमा तयार अवस्थामा छौँ र आवश्यक परे अघि बढ्न सक्छौँ।” लेख्नुभएको छ।

जवाफमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानीले ट्रम्पलाई “सावधान रहन” चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी हस्तक्षेपले मध्यपूर्व क्षेत्रमा अस्थिरता फैलिनसक्ने र अमेरिकाका हितहरू नष्ट हुनसक्ने बताउनुभएको छ ।

इरानमा आर्थिक अवस्था झन्‌झन् बिग्रिँदै गएपछि सुरु भएको प्रदर्शन एक हप्तादेखि जारी छ । प्रदर्शनका क्रममा हालसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ।

यसअघि, गत वर्षको जुन महिनामा ट्रम्पको आदेशमा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेको थियो। अमेरिकी अधिकारीहरूले ती आक्रमणले इरानको आणविक हतियार निर्माणको सम्भावनालाई ठूलो मात्रामा पछाडि धकेलेको दाबी गरेका थिए । तर इरानले यस दाबीलाई अस्वीकार गरेको छ।