
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले केही आर्थिक सूचक राम्रो देखिए पनि मुलुकको अर्थतन्त्रमा भने समस्या रहेको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले आर्थिक वृद्धिदर न्यून रहेकाले अर्थतन्त्र समस्यामा रहेको देखिएको बताउनुभएको हो । रोजगारीका अवसर नपाएर युवाहरू विदेशिनु परेकाले पनि अर्थतन्त्र समस्यामा छ भन्ने थप पुष्टि गरेको उहाँको भनाइ छ ।
अहिले उत्पादनमुखी सम्पत्तिमा केही निश्चित व्यक्तिको मात्रै पहुँच रहेको र कैयन सीपमाथिको पहुँचबाट पनि अलग रहेकाले अर्थतन्त्रमा समस्या रहेको उहाँको तर्क छ । सुशासनका बारेमा उचित समाधान पाउन नसकेको र संस्थाहरू दिनदिनै कमजोर हुँदै गएको खनालको भनाइ छ ।