मिराज ढुंगाना समूहद्वारा आन्दोलनकाे घोषणा, सर्वपक्षीय सरकार गठनको माग

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिराज ढुंगाना समूहद्वारा आन्दोलनकाे घोषणा, सर्वपक्षीय सरकार गठनको माग

काठमाडौं । जेन-जी अभियन्ता मिराज ढुंगानाको समूहले आन्दोलनकाे घोषणा गरेको छ । समूहले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि माइतीघरबाट आन्दोलन थाल्ने घोषणा गरेको हो । 

ढुंगानाले वर्तमान सरकारले जेन-जी आन्दोलनको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै सर्वपक्षीय सरकार गठन गर्न माग गर्नुभयो  । जेन-जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको जिकिर गर्दैं उहाँले सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको आरोप लगाउनुभयो । जेन-जी आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरणको लागि भएको उहाँकाे भनाइ छ । उहाँले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्नभयो । उहाँले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गर्नुभयो । 

ढुंगानाले राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको बताउनुभयो ।  सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भयो ।  उहाँले सुशासन जेन-जी आन्दोलनको मुख्य माग भए पनि भ्रष्टाचारको फाइल खोल्न नसकेको बताउनु भयो । प्रधानमन्त्रीले नै सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको आरोप पनि उहाँले लगाउनु भयो ।

ढुंगानाले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको छ । देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरूपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन-जी आन्दोलनमा संलग्नलाई धरपकड गर्न नहुनेलगायतका माग राखेर आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले रोजगारी सिर्जना गर्न जेन-जी आन्दोलन भएको भए पनि वर्तमान सरकार जेन-जीहरूलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.