चीनको आकाशमा यसवर्षकै सबैभन्दा प्रभावशाली ‘उल्का’ वर्षा

जेमिनिड उल्का वर्षासँग आकाशप्रेमीहरु मोहित, फोटोग्राफरहरु तस्वीर लिन व्यस्त
पुस २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
चीनको आकाशमा यसवर्षकै सबैभन्दा प्रभावशाली ‘उल्का’ वर्षा

काठमाडौं । चीनको आकाशमा यस वर्षकै सबैभन्दा प्रभावशाली उल्का वर्षा भएको छ । 

'जेमिनिड' नामक उल्का वर्षाले चीनको आकाशलाई झिलिमिली बनाएको छ । मध्य डिसेम्बरमा चरमोत्कर्षमा पुगेको जेमिनिड उल्का वर्षाले चीनका विभिन्न प्रान्तहरूमा आकाश प्रेमीहरूलाई मोहित बनाएको छ । शानडोङ, सिचुआन, इनर मङ्गोलिया, गान्सु र शान्सीलगायतका क्षेत्रहरूमा उल्काहरूको चम्किलो रेखाहरू स्पष्ट रूपमा देखिएका छन् । 

सामान्य अवस्थामा प्रतिघन्टा  १ सय २० देखि १ सय ५० वटासम्म उल्का देख्न सकिने यो वर्षा यस वर्ष चन्द्रमाविहीन आकाशका कारण अझ स्पष्ट र सुन्दर देखिएको हो । जेमिनिड उल्का वर्षा अन्य उल्का वर्षाहरू भन्दा फरक छ । 

अन्य उल्का धूमकेतुबाट उत्पन्न हुने गरेकोमा यो ३२ सय फेथन नामक क्षुद्रग्रहबाट उत्पन्न हुने धुलोका कणहरूबाट बन्छ । हरेक वर्ष डिसेम्बरमा पृथ्वी यस क्षुद्रग्रहको कक्षमा रहेका कणहरूबाट अघि बढ्ने क्रममा यो मनमोहक दृश्य देखिन्छ । 

चीनका फोटोग्राफरहरूले हिमालहरूको पृष्ठभूमिमा, मरूभूमिमा र ग्रामीण क्षेत्रहरूमा उल्काहरूको सुन्दर तस्बिरहरू खिचेका छन् । जसले विश्वभरि नै यो घटनालाई चर्चामा ल्याएको छ ।