काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री घिसिङले जेन-जी प्रदर्शनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रुपमा क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभएको थियो ।
त्यसैगरी उहाँले नेपालको आर्थिक विकासमा बेलायतले गरेको सहयोगको सराहना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउन ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताउनुभएको थियो ।
सो अवसरमा राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र भएको र नेपालको सफलता तथा आर्थिक रुपान्तरणमा निरन्तर सहयोग रहने उल्लेख गर्नुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।-रासस