संविधान संशोधन तथा निर्वाचन प्रणालीका विषयमा राष्ट्रिय सहमति लिइने सञ्चारमन्त्री खरेलको भनाइ

सञ्चार गृहमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता
आश्विन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधन तथा निर्वाचन प्रणालीका विषयमा राष्ट्रिय सहमति लिइने सञ्चारमन्त्री खरेलको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान संशोधन तथा निर्वाचन प्रणाली सरकार एक्लैले निर्णय गर्ने विषय नभएको स्पष्ट पार्नुभएको छ। 

जेन-जीले माग गरेको संविधान संशोधनको विषयका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने मन्त्री खरेलले बताउनुभएको हो । जेन-जी आन्दोलनपछि भदौ २४ गते भएको आगजनी तथा तोडफोडको निरीक्षण गर्न मंगलबार कान्तिपुर टेलिभिजनमा आएका मन्त्री खरेलले संविधान संशोधन तथा निर्वाचन प्रणालीजस्ता कुराहरू सरकार एक्लैले घेाषणा गरेर नहुने बताउनुभएको हो । 

सुशासन, भ्रष्टाचार नियन्त्रण तथा शासकीय प्रणालीमा परिवर्तनजस्ता जेन-जी आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्दै सरकार अघि बढ्ने उहाँले बताउनुभयो ।सरकारको पहिलो म्यान्डेट आमनिर्वाचन रहेको उल्लेख गर्दै उहाँले तोकिएको मिति फागुन २१ मै चुनाव गर्न तत्पर रहेको बताउनुभयो । 

त्यसका लागि आ-आफ्नो तर्फबाट सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो। मन्त्री खरेलले कान्तिपुर मिडिया ग्रुपलगायत सञ्चारगृहमाथि भएको आक्रमणको भर्त्सना गर्दै यस विषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो ।

सो अवसरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कान्तिपुर अझ सशक्त रुपमा उभिएर राष्ट्र निर्माणका लागि सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.