युक्रेनमा जारी युद्धलाई रोक्ने प्रयासमा पुटिनले निराश पारेको ट्रम्पको भनाइ, रूसी तेल नकिन्न पश्चिमा देशहरूलाई आग्रह

आश्विन ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनमा जारी युद्धलाई रोक्ने प्रयासमा पुटिनले निराश पारेको ट्रम्पको भनाइ, रूसी तेल नकिन्न पश्चिमा देशहरूलाई आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई रोक्ने आफ्नो प्रयासमा ‘वास्तवमै निराश पारेको’ बताउनुभएको छ । 

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रूसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उहाँले पुटिनले वास्तवमै निराश बनाएको बताउनुभएको हो । बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताउनुभयो । 

उहाँले पुटिनविरूद्ध आगामी कदमका बारेमा भने केही बताउनुभएन । यसैबीच उहाँले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रूसी तेल किन्न बन्द गर्न आग्रहसमेत गर्नुभएको छ । 

यद्यपि, उहाँले मस्कोविरूद्ध कुनै पनि एकपक्षीय कदम चाल्नबाट भने पछि हटेको देखिन्छ । अमेरिकी राष्ट्रपतिले अगस्टमा पुटिनलाई वार्ताका लागि अलास्कामा आमन्त्रण गर्नुभएको थियो । 

उहाँले रूसी नेताप्रति बारम्बार झुकाब राख्दा आफ्ना सहयोगीहरू निराश बन्न पुगेका स्वीकार गर्नुभएको छ । यसैबीच, बेलायती प्रधानमन्त्री स्टार्मरले अमेरिकी नेताबाट किएभका लागि थप प्रतिबद्धताहरू सुरक्षित गर्ने प्रयासमा ट्रम्प र युरोपेली सहयोगीहरूको आफू पुलको रूपमा प्रस्तुत हुने दोहोर्याउनुभएको छ ।