हमासको अन्त्य र बन्धकहरूको रिहाई नगरिँदासम्म गाजामा शान्ति सम्भव छैन : अमेरिकी विदेशमन्त्री

भाद्र ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
हमासको अन्त्य र बन्धकहरूको रिहाई नगरिँदासम्म गाजामा शान्ति सम्भव छैन : अमेरिकी विदेशमन्त्री

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले हमासको अन्त्य र बन्धकहरूको रिहाई नगरिँदासम्म गाजामा शान्ति सम्भव नरहेको बताउनुभएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको पत्रकार सम्मेलनमा विदेशमन्त्री रूबियोले इजरायलप्रति अमेरिकी समर्थनसमेत दोहोर्‍याए । प्यालेस्टिनी राज्यलाई मान्यता दिने प्रयासले युद्ध अन्त्यलाई झन् कठिन बनाउने पनि उहाँको भनाइ छ। 

बेलायत, फ्रान्स, बेल्जियमलगायतका मुलुकहरूले इजरायलले गाजा युद्ध अन्त्य नगरे प्यालेस्टाइनलाई मान्यता दिने बताउँदै आएका छन् । विदेशमन्त्री रूबियोले इजरायल-हमास युद्धविराम सम्झौताका लागि निरन्तर रूपमा रचनात्मक भूमिका खेल्न पनि कतारलाई आग्रह गर्नुभयो । रूबियो कतारको भ्रमणपछि इजरायल पुग्नुभएको हो ।

यसैबीच, इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभीरले पनि गाजा स्ट्रीपलाई पूर्ण नियन्त्रणमा राख्दै त्यहाँ पुलिस डिस्टि्रक्ट स्थापना गर्ने बताउनुभएको छ । सेनाले आफ्नो मिसन पूरा गर्ने विश्वास गरिएको उल्लेख गर्दै उहाँले गाजाको समुद्र किनारामा प्रहरी क्षेत्र निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

इजरायलले गाजाका बहुतले भवनलाई निशाना बनाउँदै आक्रमण तीब्र बनाएको छ । आजैमात्र इजरायली सेनाले गाजा सिटीको एक टावरमा आक्रमण गरेको छ । टावर तथा नजिक बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा जान भनेको केही समयमै इजरायलले आक्रमण गरेको हो ।

यता इजरायली विपक्षी दलले भने गाजामाथि विजय प्राप्त गर्ने नेतन्याहुको अडानले मुलुकमाथि खतरा निम्त्याउने चेतावनी दिएका छन् । विपक्षी नेता याइर गोलानले सामाजिक सञ्जाल एक्समा लेख्दै गाजा कब्जा गर्ने योजनाले बन्धकको जीवन खतरामा पार्ने, थप सैनिकको मृत्यु हुने र देश आर्थिक संकटमा पर्ने चेतावनी दिएका हुन् ।