जेन-जी प्रदर्शन : अन्तर्राष्ट्रिय मिडियाद्वारा प्राथमिकताका साथ समाचार प्रसारण

भाद्र २३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
जेन-जी प्रदर्शन : अन्तर्राष्ट्रिय मिडियाद्वारा प्राथमिकताका साथ समाचार प्रसारण

काठमाडौं । काठमाडौंमा साेमबार भएको जेन-जी प्रदर्शन र सरकारी दमनको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरेका छन् ।

समाचार संस्था एएफपीले हजारौँ युवाहरूले काठमाडौँमा प्रदर्शन गरेको उल्लेख गर्दै व्यापक झाँगिएको भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन गर्न युवाहरू आन्दोलित भएको जनाएको छ ।

भारतको इकोनोमिक टाइम्स, इन्डिया टुडे, टाइम्स अफ इन्डियालगायतले पनि घटनाको कभरेज गरेका छन् । इन्डिया टुडे, आज तकलगायतका भारतीय मिडियाले दिनभरजसो प्रत्यक्ष प्रसारण गर्दै सरकारले सामाजिक सञ्जाल एपहरू निस्क्रिय बनाएकाले जेन–जी आन्दोलन सुरु भएको जनाएको छ ।

इकोनोमिक टाइम्समा युवाहरूले प्रहरीको ब्यारिकेड भत्काएर निषेधित क्षेत्र तोडेको उल्लेख छ । झडप बढ्दै जाँदा प्रहरीले धेरै ठाउँमा गोली चलाएको र काठमाडौँमा कर्फ्यु लागेको समाचार टाइम्सले सम्प्रेषण गरेको छ । एएफपीले जेन-जी प्रतिनिधिहरूलाई उदृत गर्दै नेपालमा भ्रष्टाचार संस्थागत भएकाले विरोध गर्नुपरेको भनेको छ ।

यसैगरी बीबीसी, गार्जियन, अल-जजिरा, सीएनएन, स्काइ न्युजलगायतका विश्वभरका सञ्चारमाध्यमले नेपालमा आज भएको प्रदर्शन र सरकारको दमनलाई उल्लेख गर्दै समाचार दिएका छन् ।