काठमाडौं । इजरायलले गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी ताजा प्रस्तावका बारे हमाससँग अप्रत्यक्ष वार्ता गर्न आइतबार एउटा टोली कतार पठाएको छ । कतार, इजिप्ट र अमेरिकाद्वारा प्रस्तुत गरिएको नयाँ प्रस्तावमा ६० दिने युद्धविराम र सो अवधिमा १० जीवित र १८ शव गरी २८ बन्धक रिहाइ लगायतको प्रस्ताव गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले उक्त प्रस्तावमाथि हमासले अघि सारेका परिवर्तनका मागहरू अस्वीकार्य रहे पनि वार्ताको आमन्त्रणलाई स्वीकार गरेको उल्लेख छ । शुक्रबार राति हमासले ६० दिने युद्धविरामको प्रस्तावप्रति सकारात्मक सन्देश पठाउँदै आफू त्यसमा छलफल गर्न तयार रहेको जनाएको थियो । यद्यपि उसले प्रस्तावित प्रस्तावमा तीन वटा संशोधन चाहेको जनाइएको छ ।
हमासले स्थायी युद्धविरामका लागि सहमति नहुँदासम्म वार्ता जारी रहनु पर्ने, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थामार्फत गाजामा सहायता सामग्री आपूर्तिको संयन्त्रलाई पुनः सञ्चालन गरिनु पर्ने र इजरायली सेना गत मार्चमा अघिल्लो युद्धविराम भंग हुनुभन्दा अघि जुन स्थानमा थियो त्यहीँ फिर्ता हुनुपर्ने गरी तीन संशोधन चाहेको जनाइएको छ । इजरायलले भने ती संशोधन स्वीकार्य नभए पनि वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग भेटन वासिङ्टनतर्फ जाने तयारी गरिरहँदा प्रधानमन्त्री नेतन्याहूले वार्ता टोली कतारतर्फ पठाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेतन्याहूले सोमबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट्ने र दुवैबीच गाजा र इरानका साथै अन्य विषयमा पनि छलफल हुने बताइएको छ । कतारमा हुने वार्ता सकारात्मक भएको अवस्थामा ट्रम्पले ह्वाइट हाउसबाटै गाजा युद्धविरामको घोषणा गर्न सक्ने अपेक्षा समेत गरिएको छ ।
उता सबै बन्धक रिहा हुने गरी हमाससँग सम्झौता गर्न माग गर्दै बन्धकका आफन्तले शनिबार राति तेलअबिबमा प्रदर्शन गरेका छन् । हमास नियन्त्रणमा अझै पनि ५० जना बन्धक रहेका र तीमध्ये २० जना जीवित रहेको विश्वास गरिएको छ ।