काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको जालसाजीको छानबिन गर्न नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा संसदीय छानबिन समिति बन्ने भएको छ । सभामुख देवराज घिमिरेले शनिबार दलका मुख्य सचेतकहरूसँग गरेको छलफलमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको थियो । तर समिति कसको नेतृत्वमा गठन गर्ने भन्ने निर्णय हुन सकेको थिएन ।
नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा समिति बन्ने जानकारी दिनुभयो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका २-२ सांसदहरू रहनेछन् भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका १-१ जना रहने गरी समिति गठन गर्ने तयारी छ । तर छानबिन समितिको संयोजक नेपाली कांग्रेसलाई दिने विषयमा भने विपक्षी दलहरूको असहमति छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा पनि नेपाली कांग्रेसकै भएकाले उहाँ पनि यो घटनामा दोषी भएको आरोप लाग्दै आएको छ । सोही कारण छानबिन समितिको संयोजक नेपाली कांग्रेसले लिन नहुने उनीहरूको भनाइ छ । समितिको नेतृत्व आफूहरूलाई दिनुपर्ने, नभए एमालेले लिनुपर्ने अडान विपक्षी दलको छ ।
समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सचेतक सुशीला थिङको नाम प्रस्ताव गरिएको छ भने अन्य दलले भने नाम टुंगो लगाएका छैनन् । माओवादी केन्द्रले देवेन्द्र पौडेल र माधव सापकोटामध्ये एक जनालाई पठाउने तयारी गरेको छ ।
रास्वपाले पनि सोविता गौतम, सुमना श्रेष्ठ तथा मनीष झामध्येबाट एक जनालाई पठाउने बताएको छ । राप्रपाले रोशन कार्कीलाई पठाउने गरी तयारी गरेको छ । नेकपा एमालेले भने कसलाई पठाउने भनेर भोलि नै टुंगो लगाउने बताएको छ । भोलि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले समितिमा बस्ने सांसदहरूको नाम दिनेछन् ।
समितिलाई छानबिन गर्न २१ दिनको समय दिने सहमति समेत भएको छ ।