एजेन्सी । इजरायल र इरानबीच ६ दिनदेखि जारी मिसाइल आक्रमणले सर्वसाधारण गम्भीर जोखिममा परेका छन् । आक्रमणको केन्द्रबिन्दुमा परेका क्षेत्रहरूमा नागरिकहरू गम्भीर जोखिममा परेको भन्दै अन्तराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्नुपर्ने बताउनु भएको छ ।
इरान(इसराइलबीच छैटौं दिन मिसाइल र ड्रोन हानहान जारी रहँदा आफ्नो सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न भन्नुभएको हो । उहाँले अमेरिकाको धैर्यता कम हुँदै गएको पनि चेतावनी दिनुभयो। उहाँले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको ठेगाना थाहा भएको तर अहिलेलाई उहाँलाई मार्ने कुनै योजना नरहेको पनि बताउनुभयो ।
यसअघि इसराइलले इरानलाई हमला गरेको पहिलो दिन नै खामेनीलाई पनि मार्नेबारे इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ट्रम्पलाई सोधेको खबरहरू सार्वजनिक भएका थिए। त्यतिबेला ट्रम्पले अस्वीकार गरेपछि नै खामेनीलाई मार्ने योजनाबाट इजरायल पछि हटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका थिए । खामेनी नमारिएपनि उहाँका मुख्य(मुख्य अधिकारी मारिएका छन् ।
ट्रम्प क्यानडामा भएको जी-७ मुलुकहरूको सम्मेलन बीचमै छाडेर वाशिङ्टन फर्किनु भएको हो । उहाँले राष्ट्रिय सुरक्षा टोलीको बैठकमा छलफल गर्नुभएको छ । बैठकअघि उहाँले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूसँग टेलिफोन वार्ता गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकाले इरानविरूद्ध अहिलेसम्म रक्षात्मक कदम मात्रै चालेको छ। जसमा इरानले इसराइमा हानेको मिसाइल खसाल्न मात्रै सहयोग गरिरहेको छ। सुरक्षा परिषद् बैठकपछि अमेरिकाले मध्यपूर्वमा थप लडाकू विमान र अन्य विमानको तैनाथ बढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।