ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर २ हजारभन्दा बढी नो किङ्ग्स र्‍याली प्रदर्शन

असार १, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर २ हजारभन्दा बढी नो किङ्ग्स र्‍याली प्रदर्शन

काठमाडौं । अमेरिकामा राष्ट्रपति डनल्ड ट्रम्पको नीतिविरुद्ध देशका विभिन्न शहरमा 'नो किङ्ग्स र्‍याली' प्रदर्शन गरिएको छ । शनिबार अमेरिकाभर २ हजारभन्दा बढी र्‍याली आयोजना गरिएको सीएनएनले जनाएको छ । 

विरोध प्रदर्शनहरू केही अपवादबाहेक शान्तिपूर्ण रहेको जनाइएको छ । लस एन्जलस, कलपेपर-भर्जिनिया, लास भेगास, सियाटल, पोर्टल्यान्ड, अस्टिन, न्युयोर्क सिटी, फिलाडेल्फिया, शिकागो, डेकलाब-जोर्जिया लगायतका शहरमा हजारौं मानिसले विरोध प्रदर्शनमा सहभागिता जनाएका थिए । 

प्रहरीले भेगास शहरबाट १५ प्रदर्शनकारी गिरफ्तार गरेको छ । जनवरीमा सत्ता सम्हालेयता ट्रम्पविरुद्धको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको रोयटर्सले उल्लेख गरेको छ ।

अवैध आप्रवासन विरोधी निकाय (आइस)को धरपकडका कारण केही दिनदेखि अशान्त रहेको लस एन्जलसमा रात्रिकालीन कर्फ्यु सुरु हुनुअघि केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

देशव्यापी विरोध प्रदर्शन भइरहँदा राष्ट्रपति ट्रम्पले राजधानी वासिङ्टन डीसीमा अमेरिकी सेनाको परेड कार्यक्रमको अध्यक्षता गर्नुभएको छ । सेनाले आफ्नो स्थापनाको २५० औं वार्षिकोत्सवको अवसर पारेर राजधानी वासिङ्टन डीसीमा आफ्नो शक्ति प्रदर्शनसहित भव्य परेड आयोजना गरेको हो ।

संयोगवश यो दिन राष्ट्रपति ट्रम्पको ७९ औं जन्मदिन पनि रहेको छ । ट्रम्पले सेनाको परेड कार्यक्रमलाई अविस्मरणीय क्षण भनिरहँदा केही आलोचकहरूले भने ट्रम्पलाई अहंवादी परमाधिपति भन्दै आलोचना गरेको अल जजीराले उल्लेख गरेको छ ।