रूस र युक्रेनबीच इस्तानबुलमा भएको शान्ति वार्ता सकारात्मक, ३० दिने युद्धविराममा भने जुटेन सहमति

बालबालिका, घाइते र मृतक सैनिक आदानप्रदान हुने
जेष्ठ २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूस र युक्रेनबीच इस्तानबुलमा भएको शान्ति वार्ता सकारात्मक, ३० दिने युद्धविराममा भने जुटेन सहमति

काठमाडौं । युक्रेन र रूसबीच तुर्किएको मध्यस्थतामा इस्तानबुलमा दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्ता सम्पन्न भएको छ । वार्ता उपलब्धिपूर्ण भएको बताइएको छ ।

तुर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओन्चु केसेलीले वार्ता सकारात्मक ढंगमा टुंगिएको पुष्टि गर्नुभएको हो । वार्तापछि युक्रेनी प्रतिनिधिमण्डलका प्रमुख तथा रक्षामन्त्री रुस्तेम उमेरोभले दुवै पक्षबीच केही ठोस मानवीय सहमति जुटेको जानकारी दिनुभयो । 

उमेरोकाअनुसार युक्रेनले रूससमक्ष ३० दिने युद्धविराम प्रस्ताव गर्नुका साथै युद्धबन्दी, युवा सैनिक तथा बालबालिकाको फिर्तीसम्बन्धी विषय उठाएको थियो ।

रूसी राष्ट्रपति कार्यालयका सहयोगी भ्लादिमिर मेदिन्स्कीले वार्तापछि जानकारी दिँदै रूसले युक्रेनका ६ हजार मृत सैनिकको शव फिर्ता गर्ने सहमति भएको बताउनुभयो ।

दुबै पक्षबीच १८ देखि २५ वर्ष उमेर समूहका गम्भीर घाइते तथा बन्दी युवा सैनिक साटा-साट गर्ने निर्णय भएको बीबीसीले जनाएको छ । रूसले सीमावर्ती केही क्षेत्रहरूमा २ देखि ३ दिनसम्मको युद्धविराम प्रस्ताव गरेको बताइएको छ ।

मेदिन्स्कीका अनुसार वार्तापछि रूसी प्रतिनिधिमण्डलले दीर्घकालीन शान्ति स्थापनाका लागि युद्धविरामसम्बन्धि प्रस्तावसहितको ज्ञापनपत्र युक्रेनी पक्षलाई हस्तान्तरण गरेको छ ।

युक्रेनले ज्ञापनपत्र प्राप्त भएको पुष्टि गर्दै अध्ययनका लागि एक साता लाग्ने बताएको छ । साथै, युक्रेनले यही महिनाको अन्त्यभित्र अर्को चरणको वार्ताको प्रस्ताव पनि राखेको छ । दुवै मुलुकबीच मे १६ मा इस्तानबुलमै प्रत्यक्ष वार्ता भएको थियो ।