काठमाडौं । यस वर्षको रोटरी इन्टरनेशनल जर्नो अवार्ड कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बूलाई प्रदान गरिएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले आज ललितपुरमा गरेको कार्यक्रममा पत्रकारिताको माध्यमबाट विद्यालय शिक्षा र साक्षरताको क्षेत्रमा गरेको कार्यको उच्चमूल्यांकन गर्दै पत्रकार किलम्बूलाई रोटरी जर्नो अवार्डबाट पुरस्कृत गरेको हो ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्टका गभर्नर राजेन्द्रमान शेरचनले पत्रकार किलम्बूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । त्यसैगरी पत्रकारहरू विकास रौनियार, कल्पना आचार्य, पवनवर्षा शाह, उन्नति चौधरी, सागर परियार र अनिता भेटवाललाई पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रममा मुलुकको पत्रकारिताको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएका वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । एक लाख एक हजार रुपैयाँ राशीको उक्त अवार्ड गभर्नर शेरचनले पत्रकार कोइरालालाई प्रदान गर्नुभएको हो ।