सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

एमालेलाई बदनाम गर्न खोज्नेहरूको प्रतिकार गर्न कार्यकर्तालाई आग्रह
जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज काठमाडौंको बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिइने बताउनुभयो । 

उहाँले सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा देखिँदै आए पनि अब एमालेले त्यसलाई चिरेर अघि बढ्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले एमाले नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछोडेको स्पष्ट पार्नुभयो । एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सके पार्टीसमेत ढाल्न सकिन्छ भन्नेहरुले षड्यन्त्र गरिरहेकाले हरेक कार्यकर्ताहरूलाई एकताबद्ध भएर जुनसुकै परिस्थितिको सामना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रति पत्नी माया ज्ञवाली लगायत सहभागी हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.