रुस-युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र युक्रेनबीच आज पहिलो आधिकारिक वार्ता हुँदै

फाल्गुन २७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
रुस-युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र युक्रेनबीच आज पहिलो आधिकारिक वार्ता हुँदै

काठमाडौै । अमेरिका र युक्रेनबीच रुस–युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको रियादमा आज पहिलो आधिकारिक वार्ता हुँदैछ ।

वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफ साउदी अरब पुग्नुभएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की पनि हिजै साउदी अरब पुग्नुभएको छ । यद्यपि जेलेन्स्की वार्तामा प्रत्यक्ष सहभागी नहुने बताइएको छ ।

युक्रेनका तर्फबाट चिफ अफ स्टाफ एन्ड्रिय येरमार्क, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमेरोभ वार्तामा सहभागी हुने बताइएको छ । यसैबीच, राजकीय भ्रमणमा रहनुभएका जेलेन्स्की र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ ।

जेद्दामा भएको भेटमा युवराज सलमानले युक्रेन संकट समाधान र शान्तिका लागि साउदी अरबको तर्फबाट प्रतिबद्धता जनाउनुभयो । युक्रेनमा रूसको आक्रमणपछि साउदी अरबले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । गत महिना मस्को र वाशिंगटनका अधिकारीबीचको वार्ता पनि साउदी अरबमै भएको थियो ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आंशिक युद्धविराममा सहमति जुट्नसक्ने बताउनुभयो । सम्झौतामा हस्ताक्षर नभए पनि वार्ता सफल हुनसक्ने उहाँको भनाइ छ । रुबियोले किएभसँगको खनिज सम्झौतामा अझै केही काम गर्न बाँकी रहेकोसमेत बताउनुभयो ।

अमेरिका, राष्ट्रपति डनल्ड ट्रम्पको चर्को दबाबका कारण छिटो युद्ध अन्त्य गर्न युक्रेन प्रतिबद्ध भएको देखाउन चाहन्छ । यद्यपि किएभले भने अमेरिकाबाट सुरक्षा ग्यारेन्टी खोजिरहेको छ । जसमा अमेरिका सहमत छैन ।

युक्रेनले आजको वार्तामा रूससँग हवाई र समुद्री युद्धविराम प्रस्ताव गर्न सक्नेछ । मस्कोले भने आंशिक युद्धविरामलाई पहिले नै अस्वीकार गरिसकेको छ ।

ट्रम्प र जेलेन्स्कीबीच गत फेब्रुअरी २८ मा ओभल अफिसमा भएको तिक्ततापूर्ण सम्वादपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गर्नुका साथै गुप्तचरी सूचना आदान-प्रदान समेत रोकेर सम्झौताका लागि दबाब सिर्जना गरेको छ ।



Enter Kantipur TV HD
Advertisement