काठमाडौं । अमेरिका र युक्रेनबीच रूस-युक्रेन युद्ध अन्त्यका सम्बन्धमा साउदी अरबको राजधानी रियादमा मंगलबार द्विपक्षीय वार्ता हुँदैछ । वार्तामा अमेरिकाका तर्फबाट विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफ सहभागी हुनुहुनेछ ।
यस्तै युक्रेनका तर्फबाट राष्ट्रपति जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्रिय येरमार्क, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमेरोभ सहभागी हुने बताइएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि साउदी युवराज मोहम्मद बिन सलमानसँग संवाद गर्न सोमबार रियाद पुग्नु हुने तर उहाँ भने अमेरिकीहरूसँगको वार्तामा सहभागी नहुने किएभस्थित समाचारमाध्यमले जनाएका छन् । आइतबार अबेर जारी भिडिओ सन्देशमा जेलेन्स्कीले अमेरिकासँगको वार्ताबाट शान्तिको निकट पुग्ने र द्विपक्षीय सहयोग जारी रहने दुवै कुरामा सकारात्मक परिणाम प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।
त्यस्तै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पनि साउदी अरेबियामा एउटा असल परिणाम प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभएको छ । फलोरिडाबाट वासिङ्टन डीसीतर्फ आउने क्रममा राष्ट्रपतीय विमान एअर फोर्स वनभित्रै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेन र रूस दुवैले राम्रो गर्ने र यो साता कुनै ठूलै कुरा हुन सक्ने आशा व्यक्त गर्नुभयो ।
ट्रम्प र जेलेन्स्कीबीच १० दिनअघि अर्थात फेब्रुअरी २८मा ह्वाइट हाउसको ओभल अफिसमा भएको तिक्ततापूर्ण संवाद यता पहिलो पटक दुवै देशका प्रतिनिधिविच वार्ता हुन लागेको हो । यसबीचमा अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गर्नुका साथै खुफिया सूचना आदानप्रदान समेत रोकेर सम्झौताका लागि जेलेन्स्कीमाथि पर्याप्त दबाब सिर्जना गरेको छ ।
जेलेन्स्कीले भने रूसी राष्ट्रपति पुटिनले यसअघि भएका युद्धविराम सम्झौताको उल्लंघन गरेको भन्दै पुनः त्यस्तो नहोस भन्नका लागि अमेरिकाले किएभको सुरक्षा ग्यारेन्टी लिनु पर्ने अडान राख्दै आउनु भएको छ । गत शुक्रबार मात्रै ट्रम्पले पुटिनमाथि शान्ति सम्झौताका लागि दबाब सिर्जना गर्न रूसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो ।
युक्रेन युद्ध अन्त्य सम्बन्धमा अमेरिकाले गत महिना रियादमै रूससँग विदेशमन्त्री स्तरीय वार्ता गरेको थियो भने सो वार्तामा आफूहरू कसैलाई पनि सहभागी नगराइएको भन्दै युक्रेन र यूरोपेली देशहरूले आपत्ति जनाएका थिए ।