काठमाडौं । अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने भएको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आजबाट क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा कर लगाउने विषयमा जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।
यसअघि नै फेब्रुअरी ३ मा मेक्सिको र क्यानडाको आयतीत वस्तुमा थप कर लगाउने भनिए पनि ती दुई राष्ट्रका प्रमुखको आग्रहपछि ट्रम्प प्रशासनले कर लगाउने विषयलाई एक महिनाका लागि लम्ब्याएको थियो । समयसीमा समाप्त भएको र अब कर पुनर्विचार गर्न समय सकिएको भन्दै राष्ट्रपति ट्रम्पले आजबाट मेक्सिको र क्यानडामाथि कर लगाउने बताउनुभएको हो ।
यस्तै, ट्रम्प प्रशासनले अमेरिकामा आयात हुने चिनिया वस्तुमा थप १० प्रतिशत कर लगाएको बीबीसीले जनाएको छ । यसअघि पनि ट्रम्प प्रशासनले चिनियाँ वस्तुमा १० प्रतिशत कर लगाइसकेको छ । चिनिया वस्तुमा लाग्ने करसहित अब चिनियाँ वस्तुले समग्र रुपमा २० प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।
कर लगाइएका यी तीन मुलुक भने अमेरिकाका मुख्य व्यापार साझेदार हुन् । लागूऔषध फेन्टानिल र अवैध आप्रवासनलाई अमेरिका प्रवेशमा रोक लगाउन तीन वटै मुलुक असर्मथ रहेका करण आफ्नो प्रशासनले यस्तो कदम चालेको ट्रम्पको दाबी छ ।
ट्रम्प प्रशासनले कर लगाउने घोषणा गरेका यी तीन मुलुकले प्रत्युत्तरमा अमेरिकासँग बदला लिने बताएको बीबीसीले जनाएको छ । यसले व्यापार युद्ध निम्तिन सक्ने टिप्पणी भइरहेको बीबीसीमा उल्लेख छ ।
ट्रम्पले व्यापारमा सन्तुलन ल्याउन र अमेरिकी उत्पादनलाई रक्षा र विकासका निम्ति यस्तो कदम चालेको बताइएको छ ।
चिनिया मुखपत्र ग्लोबल टाइम्सका अनुसार चीनले समेत अमेरिकी खाद्य र कृषि उत्पादनमा कर लगाउने तयारी गरिरहेको उल्लेख गरेको छ ।
यस्तै, ट्रम्पले युरोपियन युनियनमाथि समेत २५ प्रतिशत पारस्परिक कर लगाउने चेतावनी दिइसक्नुभएको छ ।