काठमाडौं । दक्षिणी बोलिभियाको पोटोसी शहरस्थित ओरुरो क्षेत्रमा ट्रक र बस एक आपसमा ठोक्किँदा ३१ जनाको मृत्यु भएको छ ।
राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जसमा ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव निकाल्ने प्रयास भइरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
यस्तै, दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएको रोयटर्सले जनाएको छ । घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताएको छ भने दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।
सोही क्षेत्रमा केही दिनअघि दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दर्जनौंले ज्यान गुमाएका थिए ।
बोलिभियाका राष्ट्रपति लुइस आर्केले दुर्घटनापछि मृतकका परिवार र घाइतेप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिनु भएको छ ।