काठमाडौं । अमेरिका र युक्रेनबीच महत्त्वपूर्ण खनिज सम्झौताका सर्तहरूमा सहमति जुटेको छ । सहमतिसँगै अब युद्धग्रस्त युक्रेनले अमेरिकाको समर्थन प्राप्त गर्ने विश्वास गरिएको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोमोदिर जेलेन्स्की शुक्रबार वाशिङटन आएसँगै उक्त सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ । गत हप्ता दुवै नेताहरूबीच भनाभनको तनावपूर्ण अवस्थापछि खनिज सम्झौताको सर्तमा सहमति जुटेको हो ।
पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्ध समाप्त गर्ने सम्झौता भएमा युक्रेनमा शान्ति स्थापना गर्ने सेना आवश्यक रहेको बताउनुभयो । यो सम्झौतामा अमेरिकाले युक्रेनलाई केही ठोस सुरक्षा आश्वासन दिएको छ वा अतिरिक्त सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ भन्नेबारे स्पष्ट हुन सकेको छैन । ट्रम्पले खनिज सम्झौतालाई युक्रेनलाई गरिएको अर्बौ डलरको सहयोगको प्रतिफलको रूपमा प्रस्तुत गर्नुभएको छ ।
ट्रम्पको खनिज सम्झौताको प्रस्ताव गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गर्नुभएको थियो । आफ्नो प्रस्ताव स्वीकार नगरेपछि ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भनेर टिप्पणी गर्नुभएको थियो । ट्रम्पले शान्ति सम्झौता गर्न वा देश गुमाउन चेतावनी समेत दिनुभएको थियो । जसको जवाफमा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति गलत सूचनामा बाँचिरहेको टिप्पणी गर्नुभएको थियो ।
यसअघि हिजो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र रूसअधिनस्थ युक्रेनी क्षेत्रमा पाइने दुर्लभ खनिज भण्डारसम्म अमेरिकालाई पहुँच दिने विषयमा आफू खुला रहेको बताइसक्नुभएको छ ।