टोरन्टोस्थित पियरसन विमानस्थलमा हिउँमा चिप्लिएर उल्टियो जहाज, १८ जना घाइते

फाल्गुन ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
टोरन्टोस्थित पियरसन विमानस्थलमा हिउँमा चिप्लिएर उल्टियो जहाज, १८ जना घाइते
काठमाडौं । क्यानडाको टोरन्टोस्थित पियरसन विमानस्थलमा अवतरणका क्रममा डेल्टा एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । चालक दलका सदस्यसहित ८० यात्रु रहेको विमान हिउँमा चिप्लिएर उत्तानो परेको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

मिनियापोलिस-सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट टोरन्टोमा अवतरण गरेको बम्बार्डियर सीआर जे ९०० विमान दुर्घटनामा परेको हो । विमानमा ७६ यात्रु र ४ जना चालक दलका सदस्य गरी ८० जना सवार थिए । घाइते १८ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

हिमपातपछि हावा चलेको अवस्थामा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । विमानस्थलमा २२ सेन्टिमिटरभन्दा बढी हिउँ खसेको थियो । दुर्घटनापछि टोरन्टो विमानस्थल २ घण्टाभन्दा बढी समयका लागि बन्द गरिएको थियो ।



Enter Kantipur TV HD
Advertisement