युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाले सुरक्षा ग्यारेन्टी गर्नुपर्छ : बेलायती प्रधानमन्त्रीको

फाल्गुन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाले सुरक्षा ग्यारेन्टी गर्नुपर्छ : बेलायती प्रधानमन्त्रीको

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाले सुरक्षा ग्यारेन्टी गर्नुपर्ने बताउनुभएको छ । रुसले फेरि आक्रमण नगरोस् भन्ने निधो गर्न अमेरिकी सुरक्षा ग्यारेन्टी आवश्यक रहेको स्टार्मरको भनाइ छ ।

पेरिसमा युरोपेली नेताहरूसँगको बैठकपछि स्टार्मरले अमेरिकी सुरक्षा ग्यारेन्टी नै रुसलाई प्रभावकारी रूपमा निरुत्साहित गर्ने एक मात्र तरिका भएको बताउनुभएको हो । दिगो शान्ति सम्झौता भएमा युक्रेनमा ब्रिटिस सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने उहाँको भनाइ छ । अर्को हप्ता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग हुने भेटमा शान्ति सम्झौताका मुख्य विषयमा छलफल गर्ने प्रतिबद्धतासमेत स्टार्मरले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले प्रस्तुत गरेको पुस्तागत सुरक्षा चुनौतीको सामना गर्न युरोपले अझ धेरै पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

ट्रम्प प्रशासनले युरोपको संलग्नताबिनै रुससँग शान्ति वार्ता सुरु गर्ने निर्णय गरेकोमा युरोपेली नेताहरुले पेरिसमा आपत‌्‌कालीन बैठक बोलाएका थिए ।

रुस र अमेरिकाबीचको वार्ता आज साउदी अरबमा सुरु हुने भनिएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले वार्ताबारे जानकारी नभएको र आफूहरु संलग्न नभई गरिएको कुनै पनि सम्झौतालाई मान्यता नदिने बताउनुभएको थियो । 

अमेरिकी अधिकारीहरूले रुससँगको शान्ति वार्तामा युरोपेली राष्ट्रहरूसँग परामर्श गर्ने बताए पनि ती वार्तामा प्रत्यक्ष संलग्नता गराउने-नगराउने विषय भने खुलाएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement