काठमाडौं । भारतको उतर प्रदेशस्थित प्रयागराजमा एक महिनादेखि जारी महाकुम्भमा संगम स्नान गर्न जाँदै गरेको श्रद्धालु बोकेका एक बोलेरो गाडी बससँग ठाक्किँदा १० जनाको मृत्यु भएको छ । गए राति करिब २ बजे प्रयागराज–मिर्जापुर राजमार्गमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बोलेरो महाकुम्भका लागि छत्तीसगढको कोरबा जिल्लाबाट प्रयागराज जाँदै थियो भने बस महाकुम्भबाट वाराणसी फर्किरहेको बेला प्रयागराज–मिर्जापुर राजमार्गमा दुर्घटना हुन पुगेको बताइएको छ । दुर्घटनामा बसका सवार रहेका १९ जना श्रद्धालु घाइते भएको बताइएको छ भने उनीहरूलाई उपचारका लागि रामनगरस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेका थिए ।
दुर्घटना अत्यधिक गम्भीर भएको कारण गाडीबाट शव निकाल्न प्रहारीलाई कठिन भएको थियो । प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।
बसमा यात्रा गर्ने श्रद्धालुहरू मध्यप्रदेशको राजगढ जिल्लाका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।