अमेरिकी राष्ट्रपति ट्रम्प र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

माघ १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अवैध भारतीय आप्रवासी फिर्ता लिने विषयमा भारतले उपयुक्त र सही निर्णय लिने विश्वास व्यक्त गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको टेलिफोन वार्ताबारे जानकारी दिने क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेका अवैध भारतीय आप्रवासी फिर्ता लिने सम्बन्धमा भारतले उपयुक्त कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको हो । ट्रम्पले यही जनवरी २० मा शपथ लिएयता दुवै नेताबीच भएको यो पहिलो टेलिफोन वार्ता हो । वार्ताबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै ट्रम्पले फेब्रुअरीको कुनै समयमा मोदी अमेरिका भ्रमणमा आउन सक्ने बताउनु भएको छ ।

जनवरी २० मा सत्ता सम्हालेयता ट्रम्पले अमेरिका बस्दै आएका अवैध आप्रवासीमाथि कारवाही गर्न सक्ने गरी थुप्रै कार्यकारी आदेश जारी गर्नुभएको छ । ट्रम्पको कार्यकारी आदेश आएयता आप्रवासनसम्बन्धी अमेरिकी निकाय आइसीयले थुप्रै स्थानमा छापा हानी अपराधिक गतिविधिमा संलग्न थुप्रै अवैध आप्रवासीलाई गिरफ्तारसमेत गरेको छ । ब्राजिल, मेक्सिको र कोलम्बियाका थुप्रै आप्रवासीलाई उनीहरूको देशमा फिर्ता पठाएको छ ।

पिउ रिसर्च सेन्टरका अनुसार सन् २०२४ सम्ममा अमेरिकामा करिब सात लाख २५ हजार अवैध भारतीय आप्रवासी छन् । गत सातामात्रै भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आप्रवासीको वैधानिक फिर्तिका लागि भारत सदैव तयार रहेको बताउनुभएको थियो ।

ट्रम्प र मोदीबीच भएको वार्तामा प्रविधि, व्यापार, लगानी, उर्जा र रक्षा लगायतका दुई पक्षीय सम्बन्धका साथै इण्डो प्यासिफिक, मध्यपूर्व र यूरोपको सुरक्षाका विषयमा कुरा भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

हृवाइट हाउसद्वारा जारी गरिएको विज्ञप्ति अनुसार ट्रम्पले भारतले अमेरिकामा निर्मित रक्षा सामग्रीको खरिद बढाउनुपर्ने र दुई पक्षबीच स्वच्छ व्यापारिक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा मोदीले ट्रम्पलाई प्रिय मित्र भनेर सम्बोधन गर्नुका साथै दुवै जना आपसी हित र विश्वासिलो साझेदारीका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।



Enter Kantipur TV HD
Advertisement