काठमाडौं । अमेरिकामा डनल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तिमा परेका अधिकारीहरूले ट्रम्पविरुद्धको अभियोजनमा अनुसन्धान गरेका थिए ।
ट्रम्प प्रशासनअन्तर्गत नियुक्त भएका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको अधिकारीहरुलाई उद्धृत सीबीएस न्यूजले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको एजेन्डालाई पूर्णरुपमा इमान्दारीसहित कार्यान्वयन गर्न सक्षम नरहेको स्पष्ट पार्दै महान्यायाधिवक्ता म्याकहेनरीले ती अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको बताइएको छ । सीबीएस न्यूजका अनुसार निर्वतमान राष्ट्रपति जो बाइडन कार्यकालका पूर्वविशेष अभियोजक ज्याक स्मिथको नेतृत्वमा रहेका कर्मचारीलाई बर्खास्त गरिएको हो ।
ट्रम्पले पहिलो कार्यकालपछि ह्वाइट हाउस छाड्दा वर्गीकृत कागजात गलत तरिकाले प्रयोग गरेको र सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन खोजेको अभियोजनको नेतृत्व विशेष अभियोजक स्मिथले गर्नुभएको थियो ।
उक्त निर्वाचनलाई अवैध रूपमा उल्ट्याउन खोजेको अभियोगमा ट्रम्प दोषी ठहरिने पर्याप्त प्रमाणसहितको प्रतिवेदन स्मिथले बुझाउनुभएको थियो । ट्रम्पले कार्यकाल सम्हालेलगत्तै स्मिथले पदबाट राजीनामा दिनुभएको थियो ।
यसैबीच, राष्ट्रपति ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताइएको छ । सेनामा ट्रान्सजेन्डरको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकको पुनर्बहाली र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित कार्यकारी आदेश जारी हुनसक्ने बीबीसीले जनाएको छ ।