हमासले रिहा गर्ने भनिएका बन्दीमध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको दाबी

माघ १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
हमासले रिहा गर्ने भनिएका बन्दीमध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको दाबी

काठमाडौं । इजरायल र प्योलस्टिनी लडाकु समूह हमासबीच भएको युद्ध विराम सम्झौता अन्तर्गतको पहिलो चरणमा रिहा गर्ने भनिएका बाँकी २६ इजरायली बन्धकमध्ये ८ को मृत्यु भइसकेको इजरायलले दाबी गरेको छ ।

सम्झौता कार्यान्वयनमा आइसकेपछि दुई पटक गरी हमासले ७ जना इजरायली बन्धक रिहा गरिसकेको छ भने बदलामा २ सय ९० जना प्यालेस्टिनी बन्दी रिहाइ भइसकेका छन् ।

हमासले रिहाइ गर्ने बाँकी रहेका २६ मध्ये ८ को मृत्यु भइसकेको इजरायल सरकारका प्रवक्ता डेभिड मेन्सरले दाबी गर्नुभएको बीबीसीले जनाएको छ । गए राति प्यालेस्टिनी सशस्त्र समूहबाट बन्धकहरूको स्थितिबारे जानकारी प्रदान गर्ने सूची प्राप्त भएको र त्यसमा ८ जनाको नाम नरहेको इजरायल सरकारका प्रवक्ता मेन्सरले दाबी गर्नुभएको छ ।

यो सूची आफ्नो गुप्तचर निकायसँग मेल खाएको र त्यसमध्ये ८ जनालाई हमासले मारिसकेको उहाँको दाबी छ ।

हमासद्वारा मारिएका ८ जनाको नाम भने उहाँले सार्वजनिक नगरेको तर मृतकका परिवारलाई यसबारे सूचित गराइएको प्रवक्ता मेन्सरले बताउनुभएको छ ।

अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा भएको युद्ध विराम सम्झौता अनुसार हमासले ३३ इजरायली बन्धक रिहा गर्ने र इजरायलले बदलामा १९ सय प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने सहमति भएको थियो ।

१५ महिनासम्म जारी युद्धमा विस्थापित भएका मानिस धमाधम उत्तरी गाजातर्फ फर्कन थालेका छन् ।

हमासले आगामी बन्धक रिहाइमा आम नागरिक अर्बेल येहूदसहित ६ जनालाई रिहा गर्ने सहमति जनाएपछि इजरायलले नेट्जारिम कोरिडर हुँदै हिजोदेखि गाजावासीलाई पैदल गाजा फर्केन अनुमति दिएको छ ।

हिजोदेखि आजसम्ममा करिब तीन लाख विस्थापित गाजावासी उत्तरी गाजा फर्केको अल जजीराले जनाएको छ ।

युद्ध विराम सम्झौता अनुसार हमासले पहिलो चरणमा आम नागरिक रिहा नगरेको भन्दै सो नाकालाई इजरायलले बन्द गरेको थियो भने त्यहाँ करिब ६ लाख ५० हजार मानिस घर फर्कने पर्खाइमा थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement