कंगोमा विद्रोही समूहको हिंसापछि रुवाण्डाले राष्ट्रसंघका कर्मचारीलाई कंगोबाट उद्धार गर्‍यो

माघ १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
कंगोमा विद्रोही समूहको हिंसापछि रुवाण्डाले राष्ट्रसंघका कर्मचारीलाई कंगोबाट उद्धार गर्‍यो

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको विद्रोही समूह ‘एम ट्वेन्टी थ्री’ले देशव्यापी रुपमा हिंसा मच्चाएपछि रुवाण्डा सरकारले संयुक्त राष्ट्र संघका कर्मचारी र उनीहरूका परिवारलाई कंगोबाट बाहिर निकालेको छ ।

विद्रोही समूह ‘एम ट्वेन्टी थ्री’ले कंगोको पूर्वभागमा पर्ने सहर गोमा नियन्त्रणमा लिएपछि रुवाण्डाले राष्ट्र संघका कर्मचारीलाई उद्धार गरेको हो ।

विद्रोही समूह ‘एम ट्वेन्टी थ्री’ले विमानस्थल, न्यायालय लगायतका महत्वपूर्ण क्षेत्रमा गोलाबारी गरेको छ भने त्यहाँ रहेका सामानसमेत लुटेको छ ।

एक दशकभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्व सहर केन्द्रित हुन थालेपछि मानवीय संकट उत्पन्न हुने आँकलन भइरहेको छ । थप हिंसाको डरले हजारौं बासिन्दा घर छाडेर भागेका छन् । विस्थापित मानिस कंगो वरपरका शिविरहरूमा शरण लिन पुगेका छन् ।

कंगोका विदेशमन्त्रीले भने रुवान्डाले विद्रोही एम ट्वेन्टी थ्रीको समर्थनमा सीमापारी आफ्ना सेना पठाएको आरोप लगाउनुभएको छ । रुवाण्डाले पनि आफ्नो देशको सत्ता परिवर्तन गर्न चाहने विद्रोहीलाई कंगो सरकारले समर्थन गरिरहेको आरोप लगाएको छ ।

स्थिति तनावपूर्ण भएपछि राष्ट्र संघले आक्रमण तत्कालका लागि अन्त्य गर्न आह्वान गरेको छ । विद्रोहीसँगको भिडन्तमा राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कंगोमा खटिएका १३ जना शान्ति सैनिक मारिएपछि राष्ट्रसंघले यस्तो आह्वान गरेको हो ।

यस्तै, युरोपियन युनियनका विदेश नीति प्रमुख कजा कलासले विद्रोही समूहलाई सर्मथन नगर्न रुवाण्डालाई आग्रह गर्नुभएको छ ।

यसैबीच, रुवाण्डासँग जोडिएको कंगोको सीमा नजिकै द्वन्द्व भड्किएपछि दुवै मुलुकका राष्ट्रपतिबीच भोलि भर्चुअल वार्ता हुँदैछ ।



Enter Kantipur TV HD
Advertisement