विद्रोही समूहसँग भिडन्त हुँदा कंगोमा शान्ति सेनाका १३ सैनिकको मृत्यु

माघ १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
विद्रोही समूहसँग भिडन्त हुँदा कंगोमा शान्ति सेनाका १३ सैनिकको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति स्थापनार्थ खटिएका १३ जना राष्ट्रसंघीय शान्ति सैनिक, विद्रोही ‘एम ट्वेन्टी थ्री’ समूहसँगको भिडन्तमा मारिएका छन् ।यसरी मारिने शान्ति सैनिकमा ९ जना दक्षिणी अफ्रिकी, तीन जना मलावीका र एक जना उरुग्वेका छन् । 

दक्षिण अफ्रिकाले आफ्ना ९ सैनिक पूर्वी कंगोको गोमा शहरतर्फ अघि बढिरहेको विद्रोही समूहलाई रोक्न सघाउने क्रममा मारिएको जनाएको छ । सरकारी सेना र विद्रोहीबीच झडप बढ्दै जाँदा राष्ट्रसंघले गोमा शहरबाट अत्यावश्यक बाहेकका अन्य कर्मचारी फिर्ता बोलाइरहेको जनाएको छ । 

एम ट्वेन्टी थ्री समूहले गोमा शहरमा रहेका सरकारी सेनालाई रक्तपातको अवस्थाबाट जोगिन आत्मसमर्पण गर्न आह्वान गर्दै आएको छ । उता विद्रोही समूहलाई सघाइरहेको भन्दै कंगोले छिमेकी देश रुवाण्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ ।

एम ट्वेन्टी थ्री समूहका लडाकुहरूले बिहीबार कंगोली सेनाका एक जना सैन्य गर्भनरको हत्या गरेपछि झडप थप चर्किएको हो । यसै जनवरी महिनाका सुरूतिर उक्त लडाकु समूहले महत्त्वपूर्ण दुई पूर्वी शहरहरू मिनोभा र मासिसी कब्जा गरेको थियो ।

संयुक्त राष्ट्रस‌ंघीय शान्ति मिशन मोनुस्को अन्तर्गत हाल कंगोमा नेपाली सेनाका ११ सय ५१ शान्ति सैनिक तैनाथ छन् भने उनीहरू युद्ध चर्किएको स्थानभन्दा परै रहेको र सबै जना सुरक्षित रहेको जनाइएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले कंगो र रुवान्डाका नेताहरूलाई टेलिफोन गरी लडाइँ अन्त्य गर्न आग्रह गर्नुभएको छ । यस्तै युरोपेली संघका विदेश मामिला प्रमुख काजा कल्लासले विद्रोही समूहलाई अघि बढने कार्य रोक्न आग्रह गर्नुका साथै रुवान्डाले विद्रोहीलाई गरिरहेको समर्थनको भर्त्सना गर्नुभएको छ ।

एम ट्वेन्टी थ्री समूहले खनिज पदार्थमा धनी मानिएको कंगोको पूर्वी भागको ठूलो हिस्सा सन् २०२१ देखि आफ्नो कब्जामा लिएको छ । विद्रोही र सरकारी सेनाबीचको द्वन्द्वका क्रममा त्यस क्षेत्रका हजारौं मानिस विस्थापित भएका छन् ।



Enter Kantipur TV HD
Advertisement