इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई आफ्नो देशमा शरण दिनुपर्ने ट्रम्पको प्रस्ताव

गाजावासीलाई विस्थापित गर्ने नियतले आएको हुनसक्ने हमासको आशंका
माघ १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई आफ्नो देशमा शरण दिनुपर्ने ट्रम्पको प्रस्ताव

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजिप्ट र जोर्डनले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा शरण दिनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति यात्रा गर्ने सरकारी विमान एअरफोर्स वान्‌मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताउनुभएको हो ।

गाजा एउटा ध्वस्त क्षेत्रमा परिणत भएको बताउँदै ट्रम्पले यस सम्बन्धमा आफूले जोर्डनका राजा अब्दुल्लाहसँग यही सप्ताहान्तमा कुरा गरेको र इजिप्टका राष्ट्रपतिसँग पनि यस्तै अनुरोध गर्ने बताउनुभएको छ । यसरी प्यालेस्टिनीहरूलाई जोर्डन र इजिप्टमा सार्ने कार्य अस्थायी वा लामो समयका लागि पनि हुन सक्ने ट्रम्पले बताउनुभएको छ । 

प्यालेस्टिनी लडाकु समूह हमासले भने यस्तो कुनै पनि कदमको विरोध गर्ने बताएको छ । ट्रम्पको यो भनाइले गाजालाई पुर्ख्यौली घरका रूपमा हेर्दै आएका प्यालेस्टिनीलाई आक्रोशित बनाउने टिप्पणी केही अन्तर्राष्ट्रिय समाचारमाध्यमले गरेका छन् । प्यालेस्टिनीहरूले १५ महिनासम्म मृत्यु र विनाशलाई सहेको र ट्रम्पले घोषणा गरेको प्रस्ताव पुनःनिर्माणको नाममा असल नियतले ल्याइएको जस्तो दखिए पनि प्यालेस्टिनी जनताले यसलाई स्वीकार नगर्ने हमासको राजनीतिक ब्युरोका एक जना सदस्य बसीम नइमले बीबीसीलाई बताउनुभएको छ । 

ट्रम्पको यो प्रस्तावले जातीय सफायाको त्रास उत्पन्न गरेको अल जजीराले उल्लेख गरेको छ । प्यालेस्टिनी इस्लामिक जिहाद पीआइजेले युद्ध अपराधलाई प्रोत्साहन गर्ने भन्दै ट्रम्पको यो प्रस्तावको भर्त्सना गरेको छ । १५ महिना लामो युद्धमा गाजाका २३ लाख बासिन्दामध्ये अधिकांश मानिस विस्थापित भएका छन् र सबै संरचना ध्वस्त भएका छन् । 

ट्रम्पको यो प्रस्तावले गाजाका बासिन्दालाई सदाका लागि त्यहाँबाट विस्थापित गराउने त होइन भन्ने आशंका उब्जाएको टिप्पणीहरू गरिएका छन् । संयुक्त राष्ट्रसंघले केही महिनाअघि गाजाको ६० प्रतिशत संरचना ध्वस्त वा क्षतिग्रस्त भएको आकलन गर्दै यसको पुनःनिर्माणका लागि दशकौं लाग्ने बताएको थियो । १५ महिना लामो इजरायल हमास युद्धमा गाजामा ४६ हजार ६ सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए । गाजामा यही जनवरी १९ देखि युद्धविराम सुरू भएको हो ।



Enter Kantipur TV HD
Advertisement