अमेरिकाले पठाएका आप्रवासी कोलम्बियाले स्वागत गर्ने, बदलामा ट्रम्पले कर हटाउने

माघ १४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले पठाएका आप्रवासी कोलम्बियाले स्वागत गर्ने, बदलामा ट्रम्पले कर हटाउने

काठमाडौं । अमेरिकाबाट आप्रवासीलाई सैन्य विमान मार्फत् कोलम्बिया पठाउने निर्णयमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सहमति जनाएपछि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प प्रशासन सम्पूर्ण आयातित वस्तुमा कर लगाउने घोषणाबाट पछि हटेको छ । ट्रम्प प्रशासन कोलम्बियालाई २५ प्रतिशत कर लगाउने निर्णयबाट पछि हटेको ह्वाइट हाउसले जानकारी दिएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले आप्रवासीलाई सम्मानका साथै फिर्ता पठाउने निर्णय गरेपछि आफूहरूले सैन्य विमानलाई अवतरण गर्न अनुमति दिने र आप्रवासीलाई स्वीकार गर्ने निर्णय गरेको कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टोले जनाउनुभएको छ ।

यसअघि आप्रवासी बोकेको दुई वटा अमेरिकी सैन्य विमानलाई कोलम्बियाले फिर्ता पठाएपछि राष्ट्रपति डनल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर र सरकारी निकायका व्यक्तित्वमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो । जवाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकी आयातित वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । तर, घोषणाको केही बेरमै दुवै पक्षबीच सहमति जुटेपछि कोलम्बियाले यू–टर्न लिएको बीबीसीले जनाएको छ ।

निर्वासन गरिने नागरिकहरू अपराधी नभएको जिकिर गर्दै पेट्रोले ती नागरिकलाई सैन्य विमान मार्फत् पठाउन नहुने भन्दै उक्त विमानलाई फिर्ता पठाउने निर्देशन दिनुभएको थियो । उहाँका अनुसार ती नागरिकलाई सैन्यभन्दा पनि नागरिक विमान मार्फत् अमेरिकाले फिर्ता पठाउनु पर्ने कोलम्बियाका राष्ट्रपति पेट्रोको भनाइ थियो । त्यसलगत्तै दुवै मुलुकबीच विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रियामा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत् तत्काल र निर्णायक प्रतिशोधात्मक उपाय घोषणा गर्दै कोलम्बियाली सरकारी अधिकारी, सहयोगी र समर्थकमाथि यात्रा प्रतिबन्धदेखि उनीहरूको तत्काल भिसा खारेज गर्न घोषणा गर्नुभएको थियो । कोलम्बियाबाट अमेरिकाले २० प्रतिशत कफी अयात गर्ने गर्दछ भने करिब २ अर्ब बराबरको केरन, क्रुड ओएल, एभाकाडो र फूल समेत आयात गर्ने गरेको छ ।



Enter Kantipur TV HD
Advertisement