हमासद्वारा रिहा गरिने चार इजरायली बन्धकको नाम सार्वजनिक

माघ १२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमासद्वारा रिहा गरिने चार इजरायली बन्धकको नाम सार्वजनिक

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले गाजा युद्धविराम सम्झौता भएको सातौं दिनमा रिहा गर्ने भनिएका चार इजरायली बन्धकको नाम सार्वजनिक गरेको छ । ती बन्धकलाई युद्धविराम सम्झौता अन्तर्गत सम्भवतः आज दिउँसो रिहा गरिने बीबीसीले जनाएको छ ।

हमासले दोस्रो पटक रिहा गर्न लागेकाहरू इजरायली महिला सैनिक हुन् । यस पटक साटासाटका लागि हमासले करिना एरिभ, डेनिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बागको नाम सावर्जनिक गरेको छ । बदलामा इजरायलले भने करिब १८० प्यालेस्टिनी कैदी रिहा गर्नेछ ।

गत आइतबारबाट कार्यान्वयनमा आएको युद्धविराम सम्झौताको पहिलो चरणमा आज दोस्रो पटक दुवै पक्षले बन्दी आदान प्रदान गर्नेछन् । यस्तै आगामी साताहरूमा रिहा हुने २६ बन्धकको अवस्थाबारे समेत हमासले अन्य जानकारी दिने बीबीसीले जनाएको छ ।

यसपटक इजरायलले रिहा गर्ने कैदी यसअघिका भन्दा बढी गम्भीर श्रेणीका रहेको बताइएको छ । यसअघि हमासले पहिलो चरण अन्तर्गत पहिलो दिन तीन इजरायली बन्धकलाई रिहा गरेको थियो भने इजरायलले ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो ।

युद्धविराम भएको १६ औं दिनमा दुवै पक्षले दोस्रो र तेस्रो चरणको वार्ता सुरू गर्ने बताइएको छ । जसमा पूर्ण युद्धविराम र गाजा पुनः निर्माणका लागि प्रयास हुने आपेक्षा गरिएको छ ।

यस्तै दोस्रो चरणको सम्झौता आफ्नो पक्ष राख्न इजरायली सुरक्षा निकाय र खुफिया एजेन्सी मोसादका प्रतिनिधिहरू इजिप्टको कायरो पुगिसकेका छन् । अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा लामो प्रयासपछि हमास र इजरायलबीच गाजा युद्धविराम सम्झौता भएको हो ।



Enter Kantipur TV HD
Advertisement