काठमाडौं । अमेरिकाले युक्रेनसहित सबै मुलुकलाई दिइने सहायतामाथि प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धमा इजरायल र इजिप्ट भने समावेश छैनन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेशी सहायतामाथि ९० दिनका लागि प्रतिबन्ध लगाइएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विदेश मन्त्रालयका अनुसार अमेरिकाले इजरायल र इजिप्टका लागि आपतकालीन खाद्य र सैन्य कोष भने रोकेको छैन ।
विदेशमन्त्री रुबियोले आन्तरिक मेमो जारी गर्दै विदेशी सहायता रोक्काबारेको जानकारी सबै मुलुकमा रहेका अमेरिकी दूतावासमा पठाएको बीबीसीले जनाएको छ । विदेशमन्त्री रुबियोले प्रत्येक प्रस्तावित नयाँ अनुदान वा पुराना विस्तारित अनुदानमाथि समीक्षापछि निर्णय नलिएसम्म नयाँ कोष जारी नगरिने स्पष्ट पार्नुभएको छ ।
ट्रम्पको यो कदम अमेरिका फर्स्ट नीतिसँगसम्बन्धी रहेको बताइएको छ । ट्रम्प प्रशासनको यो निर्णयले विश्वमा विकास सहायतादेखि सैन्य सहायतासम्म सबै कुरामा असर पार्ने अपेक्षा गरिएको छ।
अमेरिकाको यो निर्णयले युक्रेनका लागि ठूलो धक्का पुग्ने देखिन्छ । यद्यपि, जो बाइडन प्रशासनले युक्रेनलाई ठूलो मात्रामा आर्थिक सहायता प्रदान गर्ने अनुमति दिइसकेको छ ।
बाइडेनको कार्यकालमा युक्रेनले अमेरिकाबाट अर्बौं डलर बराबरको हतियारसमेत प्राप्त गरिसकेको छ । यस्तै, अफ्रिकालाई एचआइभी नियन्त्रणका लागि दिँदै आएको राशीमा समेत तत्कालका लागि प्रतिबन्ध लाग्ने बताइएको छ । उक्त कार्यक्रम २००३ मा जर्ज डब्लु बुस कार्यकालमा सुरू गरिएको थियो ।
अमेरिकाले हाल विश्वभर स्वास्थ्य, शिक्षा, विकास, प्रशिक्षणलगायतमा सहायता प्रदान गर्दै आएको छ । अमेरिकाले सन् २०२३ मा विश्वका विभिन्न मुलुकलाई ६८ अर्ब डलर बराबरको अनुदान प्रदान गरेको तथ्यांक छ ।