काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । रूसी सरकारी सञ्चारमाध्यमसँगको प्रत्यक्ष कुराकानीमा राष्ट्रपति पुटिनले ट्रम्पसँग युक्रेन युद्ध, ऊर्जाको मूल्य, वैश्विक मुद्दामा वार्ता गर्ने र सक्दो प्रत्यक्ष भेटवार्ता हुनुपर्ने विषयमा जोड दिनुभएको हो ।
ट्रम्पले राष्ट्रपतिको शपथ लिए लगत्तै युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको थियो भने युद्ध अन्त्यका लागि वार्तामा नआए रूसमाथि थप कर बढाउने र प्रतिबन्धको दायरा विस्तार गर्ने चेतावनी दिनुभएको थियो । यो चेतावनीपछि पुटिन छलफलका लागि तयार भएको बताइएको छ ।
सञ्चारमाध्यमसँगको कुराकानीमा ट्रम्पलाई ‘स्मार्ट’ र ‘व्यावहारिक’ भनेर सम्बोधन गर्दै पुटिनले आजको वास्तविकतामा आधारित विभिन्न मुद्दामा ‘शान्तपूर्वक छलफल’ गर्नु उचित विचार भएको प्रतिक्रिया दिनुभयो ।
रूसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने चेतावनीले अमेरिकी अर्थतन्त्रमै प्रभाव पर्ने विषयमा ट्रम्प अवगत रहे पनि उहाँबाट यस्तो अपेक्षा नरहेको पुटिनको भनाइ छ । ट्रम्पले वैश्विक तनाव कम गर्न आणविक हतियार प्रयोगमा कैटौती गर्ने विषयमा अभिव्यक्तिमा पनि पुटिनले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।
यसैबीच ट्रम्पले युद्ध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सम्झौता गर्न तयार रहेको दाबी गर्नुभएको छ । तर युक्रेनले भने युद्ध अन्त्य गर्ने ट्रम्पको प्रयासलाई पुटिनले भ्रमित गर्न खोज्दै युद्ध जारी राख्न खोजेको बताएको छ ।