जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा अस्थायी रोक

माघ ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा अस्थायी रोक

काठमाडौं । अमेरिकी संघीय जिल्ला अदालतले जन्मसिद्ध नागरिकता पाउने अधिकार रोक्ने सम्बन्धी नवनियुक्त राष्ट्रपति डनल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अस्थायी रोक लगाएको छ । फेब्रुअरीदेखि कार्यान्वयनमा आउने भनिएको ट्रम्पको उक्त आदेश स्पष्ट रूपमा असंवैधानिक रहेको न्यायाधीश जोन कोहेनरले टिप्पणी गर्नुभएको छ । 

वासिङटन राज्यको सियाटलस्थित जिल्ला न्यायाधीश कोहेनरले डेमोक्र्याट नेतृत्वका चार राज्य वासिङटन, एरिजोना, इलिनोइस र ओरेगनको आवेदनमाथिको बहसपछि अस्थायी निषेधाज्ञा जारी गर्नुभएको हो । अदालतको उक्त आदेशले ट्रम्पको नयाँ नीति कार्यान्वयनमा देशभर १४ दिनका लागि रोक लगाएको हो । उक्त मुद्दामा फेब्रुअरी ६ मा अर्को सुनुवाइ हुने र त्यस सुनुवाइपछि दीर्घकालीन निषेधाज्ञा जारी गर्ने वा नगर्ने बारेमा निर्णय लिने बताइएको छ ।

शपथ लिएकै दिन ट्रम्पले माता वा पितामध्ये कुनै एक जना पनि अमेरिकी नागरिक नभएको वा अस्थायी भिसामा अमेरिकामा बस्दै आएका व्यक्तिका सन्तानले जन्मने बित्तिकै नागरिकता नपाउने कार्यकारी आदेश जारी गर्नुभएको थियो । सो प्रावधान फेब्रुअरी १९ वा त्यसपछि जन्मिने शिशुका हकमा लागु हुने बताइएको थियो ।

ट्रम्पकै दल रिपब्लिकन पार्टीका तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनद्वारा नियुक्त न्यायाधीश कोहेनरको यो आदेशले ट्रम्पको दोस्रो कार्यकालको केन्द्रबिन्दुका रूपमा रहेको आप्रवासनप्रतिको कडा नीतिलाई पहिलो कानुनी धक्का दिएको रोयटर्सले टिप्पणी गरेको छ । ट्रम्पले भने कोहेनरको आदेश विरुद्ध अपिल गर्ने प्रतिक्रिया दिनुभएको छ । 

डेमोक्र्याट नेतृत्वका यी राज्यले ट्रम्पको आदेशले संविधानको १४ औं संशोधनले अमेरिकामा जन्मिने कुनै पनि व्यक्तिले जन्मसिद्ध नागरिकता पाउने अधिकारको उल्लंघन हुने भन्दै अदालतमा निषेधाज्ञाका लागि मुद्दा दर्ता गराएका थिए । ट्रम्पको पक्षका वकिलले भने १४औं संशोधनलाई भिन्न प्रकारले व्याख्या गरिनु पर्ने र यो व्यवस्था अमेरिकामा अवैधानिक रूपले बस्दै आएका वा अस्थायी भिसामा रहेका व्यक्तिका सन्तानमा लागू गर्न नहुने तर्क गरेका थिए । 

ट्रम्पको उक्त कार्यकारी आदेश विरुद्ध डेमोक्र्याट नेतृत्वका २२ वटा राज्य र विभिन्न नागरिक अधिकार समूहले विभिन्न अदालतमा मुद्दा दर्ता गरेका छन् ।



Enter Kantipur TV HD
Advertisement