काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पको आश्वासनपछि चर्चित सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरू गरेको छ । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरू गरेको हो ।
राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै एपमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानुनको आधारमा टिकटकले आइतबार अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो । ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने पनि स्पष्ट पार्नुभएको छ । तर, विगतमा भने ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा उभिनुभएको थियो ।
गत साता मात्र अमेरिकी सर्वोच्च अदालतले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा र चीनसँगको सम्बन्ध औल्याउँदै एपमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानुनको पक्षमा फैसला सुनाएको थियो । यसपछि, अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै टिकटकले आफ्नो सेवा बन्द गरेको घोषणा गरेको थियो ।
अमेरिकामा करिब १७ करोड मानिसले उक्त एप प्रयोग गर्छन् । यसअघि अमेरिकी कंग्रेसले एप गैर चिनियाँ कम्पनीलाई बेच्न पर्ने अन्यथा अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने भन्दै एक कानुन पारित गरेको थियो ।
उक्त प्रतिबन्धले १७ करोड प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै प्रतिबन्धलाई फुकुवा गर्न एपका मातृ कम्पनी बाइट डान्सले सुरूमा उच्च र पछि सर्वोच्च अदालतमा अपिल गरेको थियो ।
तर, दुवै अदालतले अमेरिकी कानुनकै पक्षमा फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार भने आजबाट टिकटकमा प्रतिबन्ध लाग्नेछ । यस्तै आजै ट्रम्पले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ भने औपचारिक रूपमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा पुनरागमन गर्दै हुनुहुन्छ ।