काठमाडौं । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरुङले प्रदेशमा कृषिका विविध पक्षलाई पर्यटनसँग जोड्ने काम गरिरहेको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको पहिलो सत्र ‘राजनीति र पर्यटन नीति’मा बोल्दै मन्त्री गुरुङले गण्डकी प्रदेशको प्राथमिकतामा ‘एग्रो-टुरिजम’ रहेको धारणा राख्नुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेशको पहिलो प्राथमिकता क्षेत्र कृषि हो र यसलाई दोस्रो प्राथमिकतामा रहेको पर्यटनसँग जोडेर दिगो विकासका कार्यक्रम अघि बढाइएका छन् । “भुजुङ खोलाको ट्राउट, लोकल कुखुरा, यहाँका फलफूल बगैंचा र रैथाने बालीनाली जस्ता कृषिका विविध पक्षलाई पर्यटनसँग जोडिरहेका छौं”, उहाँले भन्नुभयो ।
सांस्कृतिक तथा व्यापार मेलालाई प्रवर्द्धन गर्दै जातजाति र बाजागाजालाई आर्थिक रूपले बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गरिरहेको पनि उहाँले बताउनुभयो । साहसिक खेल, कोसेली घर र घरवास कार्यक्रमलाई तालिम प्रदान गरेर स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नेतर्फ प्रदेश सरकार लागिपरेको गुरुङको भनाइ छ ।
“हामी अहिले पर्यटन नीति बनाउने क्रममा छौं र यसका लागि नेचर (प्रकृति), एड्भेन्चर (साहसिक खेल), एग्रिकल्चर (कृषि), कल्चर (संस्कृति), हिस्ट्री (इतिहास), हेरिटेज (सम्पदा) र रिलिजन (धर्म) लाई मुख्य दृष्टिकोण मानेका छौं”, मन्त्री गुरुङले भन्नुभयो, “यिनै गतिविधि र गन्तव्यका रूपमा हामी गण्डकीलाई आधुनिक पर्यटनको जननीका रूपमा थप उजागर गर्ने गरी पर्यटन नीति बनाउन चाहन्छौं ।”
सन् १९५० को दशकलाई नेपालको आधुनिक पर्यटन विकासको सुरूआतका रूपमा मानिने र सोही वर्ष गण्डकीमा रहेको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण भएको गुरुङले उल्लेख गर्नुभयो । “यो घटना नेपालमा आधुनिक पर्यटनको पहिलो गतिविधि थियो, त्यसको तीन वर्षपछि मात्रै सगरमाथा आरोहण भयो”, उहाँले भन्नुभयो, “यस हिसाबले आधुनिक पर्यटन विकासको जननी गण्डकी प्रदेश हो ।”