काठमाडौं । नेपाल बार एसोशिएशनले पाँचौं ‘ल एसिया अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलन’ आयोजना गर्ने भएको छ । बारले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन ३ देखि ५ गतेसम्म काठमाडौंमा सम्मेलन गर्ने जानकारी दिएको हो ।
सम्मेलनमा मानवअधिकार, प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना कसरी गर्ने भन्ने मुद्दाहरूलाई सम्बोधन गरिने नेपाल बार एसोशिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताउनुभयो । “यो कार्यक्रम नेपालमा आयोजना हुनु नेपालको न्याय क्षेत्रकै लागि प्रतिष्ठाको विषय हो”, अध्यक्ष घिमिरेले बताउनुभयो ।
विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवअधिकारकर्मीहरूको सहभागितामा हुने यस सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने सम्मेलनका सहसंयोजक सरोजकृष्ण घिमिरेले बताउनुभयो । “विश्वभरबाट कार्यक्रमका लागि न्यायाधीश, कानुन व्यवसायी, मानवअधिकारकर्मीहरू आउँदै हुनुहुन्छ । २० भन्दा बढी राष्ट्रका १५० सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै हुनुहुन्छ । नेपालमा हालसम्म आयोजना भएका कार्यक्रममा कानुन क्षेत्रको यो सबैभन्दा ठूलो सम्मेलन हो”, सहसंयोजक घिमिरेले बताउनुभयो ।
सम्मेलनमा ल एसियाका सदस्य, गैरसदस्य गरी २० भन्दा बढी राष्ट्रका १५० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । ल एसियाले कानुनी पेशाको हक हितका लागि आवाज मुखरित गर्ने संस्थाको रूपमा ५० वर्षदेखि काम गर्दै आइरहेको छ ।