काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दा थुप्रै चुनौती बेहोर्नुपरेको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न संघ र प्रदेश सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको पनि बताउनुभयो ।
“सडक कनेक्टिभिटी चुनौती र कष्टकर छ, हवाई यातायात कहिले मौसमका कारण त कहिले व्यवस्थापनका कारण समयमै यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “गण्डकीमा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि सञ्चालन गर्न नसक्दा थुप्रै चुनौती बेहोरिरहेका छौं ।”
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले चाहेर मात्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने बताउनुभयो । छिमेकी मुलुक भारत र चीनबाट गण्डकीमा उच्चस्तरीय भम्रण भइरहँदा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेबारे छलफल गरिरहेको समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
“अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कुरा र सहयोगका लागि आफ्नो क्षेत्रबाट गर्नुपर्ने धेरै कार्यहरू गरिरहेका छौं, तर पनि हामीले नियमित रूपमा सञ्चालन गर्न सकिरहेका छैनौं”, उहाँले भन्नुभयो ।
यो पनि,
गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने सम्भावना देखेको छु : अध्यक्ष सिरोहिया