काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक युललाई भ्रष्टाचार विरोधी निकाय-सीआइओले पक्राउ गरेर ग्योन्गी प्रान्तस्थित ओइवांगमा रहेको सियोल डिटेम्सन सेन्टर लगेको छ ।
आज निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गरेर आफ्नो मुख्यालय लगी बयान लिने प्रयास गरेको हो । त्यहाँ सीआइओका अनुसन्धानकर्ताहरुले करिब दुई सय पृष्ठको प्रश्नोत्तर तयार गरी बयान लिने प्रयास गर्दा राष्ट्रपति यूनले भने आफ्नो ‘मौन बस्ने अधिकार’ प्रयोग गर्नुभएको कोरियन हेरल्डले जनाएको छ ।
स्थानीय समय अुनसार ११ बजेबाट सुरु भएको बयान लिन प्रयास साढे एक बजेसम्म चलेको थियो । तर, युन भने मौन नै बस्नुभयो । राष्ट्रपति युनलाई सीआइओले ४८ घण्टासम्म मात्र आफ्नो नियन्त्रणमा राख्न पाउने छ । गिरफ्तार अवधि विस्तार गर्न चाहे सीआइओले अदालतसँग पुनः अनुमति माग्नु पर्ने हुन्छ । त्यसका लागि सीआइआले अदालतसमक्ष माग गर्नेछ । यस्तै युन पक्राउ परेको विरुद्ध र पक्षमा भने व्यापक प्रदर्शन भइरहेको छ ।
यसैबीच, गिरफ्तारीको घण्टौपछि राष्ट्रपति युनले फेसबुकमार्फत संसदीय तनाशाहीविरुद्ध प्रतिरोध र लडाइँ गर्ने इच्छा व्यक्त गर्नुभएको छ भने मार्शल ल घोषणा अपराध नभएको भन्दै उक्त घोषणाको बचाउ गर्नुभयो ।
देशमा सैन्य कानून लगाउने असफल प्रयास गरेकोमा यूनविरुद्ध देशद्रोहको अभियोगमा अनुसन्धान भइरहेको छ । बारम्बार बयानका लागि बोलाउँदा समेत उपस्थित नभएपछि अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा सीआइओले यूनलाई नियन्त्रणमा लिएको हो ।
महाअभियोग पारित भएसँगै निलम्बनमा पर्नु भएका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ। संवैधानिक अदालतले महाअभियोग सदर गरेको अवस्थामा यून पदबाट बर्खास्त हुनुहुनेछ ।