वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ

काठमाडौं । आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका-१० का २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-११ का ३३ वर्षीय दूधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका-५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, दूधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट र प्रभालाई ललितपुर महानगरपालिका-१० बाट आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु ६ लाख ४५ हजार, दूधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख ५० हजार र प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख आठ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement