सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेका तर्फबाट बहस सुरू

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेका तर्फबाट बहस सुरू

कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट थुनछेक बहस सुरू भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजालासमा थुनछेक बहस जारी छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवम प्रबन्ध निर्देशक लामिछानेका तर्फबाट कानुन व्यवसायीहरू सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगर, डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, राजेन्द्र बजगाईं र सुविज्ञ पन्त लगायतले बहस गर्दै छन् । 

गत शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस सुरू भएको थियो । दुई दिन गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं शेयरधनी पूर्वडीआईजी छविलाल जोशी र जीबी राईका सहयोगी लीला पछाईंको तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । त्यसअघि सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस गरिएको थियो ।

आजबाट सुरू भएको लामिछानेको तर्फको बहस सकिएपछि कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङका तर्फबाट थुनछेक बहस हुनेछ । प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीश राईले प्रतिवादीहरूलाई थुनामै रहेर वा थुना बाहिरै बसेर मुद्दा लड्ने भन्नेबारे आदेश दिनुहुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछाने सहित ४४ जना विरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस प्रकरणमा अहिलेसम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

लामिछानेसँगै रामबहादुर खनाल, जोशी र पछाईं विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement