चिसोसँगै बढ्यो काठमाडौंको वायु प्रदूषण

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिसोसँगै बढ्यो काठमाडौंको वायु प्रदूषण

काठमाडौं । चिसोसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण पनि बढेको छ । आज काठमाडौं उपत्यकाको ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) २०५ छ ।

वातावरणविद् भूषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उहाँले भन्नुभयो । 

त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उहाँको भनाइ छ ।

एक्यूआई अनुसार आज काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित शहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एक्यूआई ३४१ छ । दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई २४८, तेस्रो स्थानमा मंगोलियाको उलानबाटरको एक्यूआई २३८ छ । साथै चौथो स्थानमा रहेको प्रदूषित शहर भारतको नयाँ दिल्लीको एक्यूआई २२७ छ ।

विपद व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्मको एक्यूआईले होसियार रहन सङ्केत गर्छ भने १०१ देखि १५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ । 

उहाँका अनुसार १५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख गरेको छ । उक्त विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement