काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार महफुज आलमले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतले बंगलादेश फिर्ता पठाउन नचाहेको आरोप लगाउनुभएको छ ।
बंगलादेशको परराष्ट्र मन्त्रालयमा विदेश नीतिमाथिको छलफलपछि पत्रकारसँग कुरा गर्दै अन्तरिम सरकारका सल्लाहकार आलमले यस्तो बताउनुभएको हो ।
उहाँले हसिनालाई बंगलादेश फिर्ता नपठाउने निर्णय भारतको राजनीतिक निर्णय रहेको आरोप समेत लगाउनुभएको छ ।
बंगलादेशले भारतीय विदेश मन्त्रालयलाई औपचारिक रुपमा शेख हसिनालाई सुपुर्दगी गर्न अनुरोध गरे पनि भारत सरकारले फिर्ता नपठाउने सन्दर्भमा तत्कालै कुनै कारबाही गर्नु उचित विकल्प नरहेको समेत उहाँको भनाइ छ ।
जुलाई र अगस्ट महिनामा विद्यार्थी नेतृत्वमा भएको अन्दोलनले उग्र रुप लिएपछि शेख हसिना बंगलादेश छाडेर भारततर्फ पलायन हुनुभएको थियो । अन्दोलनको क्रममा हसिनाले मानवताविरुद्धको अपराध र नरसंहार गरेको अभियोगमा ढाकास्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण आईसीटीले पक्राउ पुर्जी जारी गरिसकेको छ भने उहाँविरुद्ध थुप्रै मुद्दा लगाइएको छ ।
कानुनी प्रक्रियाका लागि हसिनालाई फिर्ता पठाउन भारतलाई बंगलादेशले कूटनीतिक नोट पठाएको थियो । भारतले भने नोट प्राप्त भएको जानकारी दिए पनि हसिनालाई सुपुर्दगी गर्ने विषयमा कुनै प्रतिक्रिया दिएको थिएन ।