काठमाडौं । प्यालेस्टाइनले इजरायल अधिनस्थ वेस्ट ब्यांकमा अल जजीरा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ । फताह समूहको नेतृत्वमा रहेको प्यालेस्टाइन प्राधिकरणले अल जजीरा मिडिया नेटवर्कलाई वेस्ट ब्यांकमा प्रसारण गर्न अस्थायी रूपमा रोक लगाएको हो ।
अल जजीराले वेस्ट ब्यांक सम्बन्धी भ्रामक र उत्तेजक सामग्री सम्प्रेषण गरेका कारण नेटवर्कलाई अस्थायी रूपमा निलम्बन गरिएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ । वेस्ट ब्यांक इजरायलको कब्जामा छ । फताह समूहले नेटवर्कलाई सहयोग नगर्न प्यालेस्टिनीलाई समेत आग्रह गरेको छ ।
वेस्ट ब्यांकको जेनिन शिविरमा प्यालेस्टिनी सुरक्षा बल र लडाकुबीचको हप्ता लामो द्वन्द्वका लागि अल जजीरा टिभीले प्यालेस्टिनी अधिकारीको आलोचना गरेको थियो ।
यसैबीच अल जजीरा मिडिया नेटवर्कले आज एक विज्ञप्ति मार्फत प्यालेस्टिनी प्राधिकरणको निर्णयको निन्दा गर्दै समाचार संकलन जारी राख्ने जनाएको छ । अल जजीराले फताह समूहलाई निर्णय फिर्ता लिन समेत सुझाएको छ । यसअघि इजरायली सेनाले गत सेप्टेम्बरमा अल जजीराको प्रसारण बन्द गर्न आदेश जारी गरेको थियो ।