काठमाडौं । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले २५ डिसेम्बरमा कजाखस्तानमा भएको विमान दुर्घटनामा रूसको हात रहेको आरोप लगाउनुभएको छ । तर, उक्त आक्रमण नियतवश नरहेको अलीयेभको भनाइ छ ।
राष्ट्रपति अलीयेभले रूसको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली चालु रहेकाले विमान दुर्घटना हुन पुगेको दाबी गर्नुभएको हो । रूसले आक्रमणपछि त्यसलाई ढाकछोप गरेको पनि उहाँको आरोप छ । विमान दुर्घटनाको मुख्य कारण लुकाउन रूसले तथाकथित कथा रचेकोमा आफूलाई दु:ख लागेको समेत अलीयेभले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिरक्षा प्रणालीका कारण झुक्किएर विमान दुर्घटना भएको हो भने रूसले मित्रराष्ट्रको हैसियतले अजरबैजानसँग माफी मागेर आफ्नो गल्ती स्वीकार गर्नुपर्ने राष्ट्रपति अलीयेभको भनाइ छ ।
गत शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाबारे अजरबैजानसँग माफी माग्नुभएको थियो । तर रूसले आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको आक्रमणका कारण विमान खसेको भने स्वीकार गरेको छैन ।
रूसले युक्रेनी आक्रमण जारी रहेका कारण प्रतिरक्षा प्रणाली चालु गरेको बताएको छ । दुर्घटनामा बाँचेकाहरूले पनि एकपछि अर्को तीन वटा विस्फोटको आवाज सुनेको बताएका थिए ।
विमान अजरबैजानबाट रूस गइरहेको थियो तर विमानस्थलमा युक्रेनी ड्रोनको आक्रमणका कारण अवतरण गर्न नदिइएपछि कजाखस्तानतर्फ मोडियो र बाटोमै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो भने २९ जना बाँच्न सफल भएका थिए ।