काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान दुर्घटना भएको विमानमा सवार १ सय ८१ जनामध्ये १ सय ७९ जनाको मृत्यु भएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । चालक दलका दुई सदस्यको भने जीवितै उद्धार गरिएको थियो । दुर्घटनापछि सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
एक सय ७५ यात्रु र ६ जना चालक दलका सदस्य गरी कुल १ सय ८१ जना चढेको जेजु एयरको ७३७ डयास ८०० विमान स्थानीय समयअनुसार बिहान नौ बजेर तीन मिनेटमा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । अवतरणका क्रममा विमानका चक्का खुलेका थिएनन् भने धावनमार्गमा चिप्लिँदै विमान पर्खालमा ठोक्किएको थियो । पर्खालमा ठोक्किनेबित्तिकै ठूलो विस्फोटका साथै आगलागी भएको थियो । मुआन विमानस्थल राजधानी सोलबाट करिब २ सय ८९ किलोमिटर दक्षिण पश्चिममा पर्दछ । थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको विमानमा दुई जना थाई यात्रुबाहेक अन्य सबै दक्षिण कोरियाली नागरिक भएको बताइएको छ ।
यथेस्ट कारण नखुले पनि खराब मौसमका साथै चरासँग ठोक्किँदा दुर्घटना भएको अग्नि नियन्त्रण सेवाको अनुमान छ । स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार एक यात्रुले आफ्नो परिवारका सदस्यलाई पठाएको सन्देशमा जहाजको पखेटामा चरा अड्किएको र अवतरण गर्न नसकेको उल्लेख गरेका थिए । दुर्घटनाको ६ मिनेटअघि अर्थात् ८ बजेर ५७ मिनेटमा कन्ट्रोल टावरले विमानलाई चरा ठोक्किन सक्ने चेतावनी दिएको, ८ बजेर ५९ मिनेटमा चालकले आपतकालीन अवस्थाको जानकारी गराएको र ९ बजेर ३ मिनेटमा दुर्घटनामा परेको रोयटर्सले जनाएको छ ।
यसैबीच दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले भग्नावशेषबाट विमानको फ्लाइट डेटा रेकर्डर र भ्वाइस रेकर्डर दुवै फेला पारेको जनाएको छ । विमानमा तीन वर्षीय बालकदेखि ७८ वर्षसम्मका यात्रु रहेको दक्षिणी कोरियाली समाचार समिति योनहापले जनाएको छ ।
घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेजु एयरका मालिकहरुले टाउको निहुर्याएर सार्वजनिक क्षमायाचना गरेका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायतका विश्वका नेताहरुले घटनाप्रति शोक र समवेदना व्यक्त गरेका छन् ।