काठमाडौं । गाजा युद्धविराम तथा इजरायल र हमासबीच बन्धक रिहाइ सम्झौताको वार्ता ९० प्रतिशत पूरा भएको प्यालेस्टाइनले जनाएको छ । कतारको दोहामा भएको वार्ताबारे जानकारी दिँदै प्यालेस्टाइनका एक अधिकारीले मुख्य मुद्दाहरूमा सहमति जुट्न बाँकी रहे पनि ९० प्रतिशत वार्ता पूरा भएको दाबी गरेका छन् ।
युद्धविरामको तीन चरणमा युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ । युद्धविरामको पहिलो चरणमा कैदीबन्दी आदानप्रदान गर्ने सहमति जुट्न लागेको रोयटर्सले जनाएको छ । रिहा हुने प्रत्येक इजरायली महिला सैनिकको सट्टा २० प्यालेस्टिनी कैदी छुट्ने बताइएको छ । कैदीहरूको नाममा सहमति हुन बाँकी छ । इजरायलमा २५ वर्ष वा सोभन्दा बढी जेल सजाय भोगिरहेका करिब ४ सय कैदीबाट नाम छानिने बताइएको छ ।
यसमा प्यालेस्टाइनी वरिष्ठ नेता मारवान बरघौती भने समावेश हुने छैनन् । हमासको नियन्त्रणमा रहेका केही बन्धक बेपत्ता छन् । गाजामा रहेका ९६ बन्धकमध्ये ६२ जना जीवितै रहेको इजरायलको अनुमान छ । इजरायल-गाजा सिमानामा बफर जोनको दायरा बढाउनेमा पनि सहमति जुट्न लागेको बताइएको छ । इजरायलले युद्धविरामपछि पनि गाजामा सैन्य उपस्थिति कायम राख्नेछ ।
तीन चरणको वार्ताको अन्तिम चरणमा १४ महिनादेखि जारी युद्ध अन्त्य हुनेछ । गाजा युद्धविरामका लागि अमेरिका, कतार र इजिप्टले आफ्नो मध्यस्थता प्रयास निष्कर्षमा पुग्ने अपेक्षा राखेका छन् ।
यसअघि अक्टोबरमा भएको वार्ता विफल भएको थियो । त्यसबेला हमासले छोटो अवधिको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको थियो ।