काठमाडौं । ब्राजिलको पर्यटकीय शहर ग्रामाडोमा एक निजी विमान दुर्घटना हुँदा विमानमा सवार एकै परिवारका १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।
विमान पहिले एक भवनको चिम्नीमा ठोक्किएपछि अर्को भवनको दोस्रो तल्लामा ठोक्किँदै त्यहाँ रहेको अन्य पसलमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाइलट समेत रहेका विमानधनी लुइस क्लाउडिया गैलेजी सहित उहाँका परिवारको सदस्यको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा पाइलट सहित उहाँकी श्रीमती, तीन छोरी र अन्य सदस्य रहेको त्यहाँका प्रहरीले जनाएका छन् ।
स्थानीय अधिकारीका अनुसार विमान दुर्घटना हुँदा घाइते भएका १७ जनामध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको छ । विमानधनी आफ्नो परिवारसँग आफ्नै विमान मार्फत बिदा मनाउन गइरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ । रियो ग्रान्डे दो सुलका गभर्नर इड्वार्डो लेतेले पत्रकार सम्मेलन गर्दै उडान भर्ने प्रतिकूल मौसम नभए पनि उडान भर्दा विमान दुर्घटना हुन पुगेको बताएको बीबीसीले जनाएको छ ।
विमान तीन किलोमिटर उडान भरेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ । गभर्नरका अनुसार विमान दुर्घटनाबारे एरोनटिकल एक्सिडेन्ड इन्भेस्टिगेशन एन्ड प्रिभेन्शन सेन्टरले थप अनुसन्धान गरिरहेको छ ।